विद्यालय भौतिक रूपमा बन्द भए पनि अनलाइन पठनपाठनलाई निरन्तरता दिन सकिने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) काे निर्णयमन्त्रालयमा आज साेमवार बसेको बैठकले सीसीएमसीले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको र बिदाको मोडालिटीबारेमा थप सूचना निकाल्ने शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार हिउँदे बिदालाई मिलान गर्ने गरी विद्यालय बन्द हुनेछन् । केही विद्यालयमा हिउँदे बिदा सुरु भइसकेको छ । केही विद्यालय तथा कलेजमा परीक्षा चलिरहेको छ ।
विद्यालय बिदाका बेलामा पनि सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार अनलाइन माध्यमबाट पठन पाठनलाई निरन्तरता दिन सक्ने मन्त्रालयले जनाएको छ । भौतिक रूपमा विद्यालय बन्द भए पनि अनलाइन पठनपाठनमा अवरोध नहुने प्रवक्ता शर्माले बताउनुभयो ।प्रवक्ता शर्माका अनुसार विद्यालय बन्द भएको बेलामा पनि सरकारको खोप कार्यक्रमअनुसार १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिइनेछ । विश्वविद्यालयका परीक्षा सञ्चालन हुने पनि उहाँले स्पष्ट पार्नुभयो ।
यस्तै वार्षिक तथा सेमेस्टर परीक्षा भौतिक दुरी कायम गरेर, मास्क, स्यानिटाइजर प्रयोग गरेर अङ्ग्रजी अक्षरकाे 'जेड' आकारको बसाइको सिट प्लान गरेर चलाउन सकिनेछ । अहिले परीक्षा भइरहेका विद्यालयलाई स्वास्थ्य मापदण्ड अपनाउन भनिएको छ ।
कोरोनाको सङ्क्रमण बढ्दै गएपछि सीसीएमसीसीले हिजो आइतवार आउँदाे माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।
साथै सीसीएमसीसीको बैठकले २५ जनाभन्दा बढी सहभागी हुने गरी कार्यक्रम नगर्न, बढी भिडभाड हुने सिनेमा घर, पार्क, सार्वजनिक ठाउँमा जाँदा अनिवार्यरूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था लागू गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ । बैठकले जिल्लाको अवस्था हेरेर आवश्यक कदम चाल्ने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिएको छ।
0 Comments