भ्रष्ट राजनीतिज्ञ र बिचौलिया कर्मचारीले हुर्काएका ‘बतास’हरु
बतास जस्ता व्यापारीहरुको उत्पादन, मलजल र विस्तार गर्ने को हुन् ? राजनीतिक दल, सरकार, राज्यका अंगहरु निरीह र बतासहरु यति शक्तिशाली कसरी हुनसक्छन् ? सरकारी सम्पदा र सम्पत्ति हडप्न सफल बतासहरुको संरक्षण कसले गर्छ ?
बतास समूहका आनन्दराज बतास र स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीबीचको सम्बन्धबारे पोखरामा एउटा किस्सा छ, ‘आनन्दराज र रवीन्द्र भोट नदिएका तर नोट दिएका साथी थिए ।’
हेलिकप्टर दुर्घटनामा मुत्यु भएको सातौं दिन २०७५ फागुन २१ मा आनन्दराजले रवीन्द्रको सम्झनामा लेखेका थिए, ‘मैले कहिल्यै भोट नदिएका साथी ।’ त्यो लेखको मर्म हो, पोखरा पृथ्वीनारायण क्याम्पसमा सँगै पढेका आनन्दराजले रवीन्द्रलाई चुनावमा नोट दिए, भोट दिएनन् ।
राजनीतिमा चम्किरहेका रवीन्द्र र व्यवसायमा लम्किरहेका बतास भोट र नोट आर्जन गर्ने सम्बन्ध भने सधैं बलियो बन्यो । पुष्पज्योति ढुंगाना, धनराज आचार्यसँगै बतास र रवीन्द्रले एउटा जलविद्युत आयोजनामा सेयर पनि हाले ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचन जितेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका रवीन्द्रले ‘भोट नदिएका तर नोट दिएका’ साथी आनन्दराजलाई गुन तिर्ने योजना बनाए, ‘पशुपतिनाथमा भारतले बनाइदिएको तीर्थालु बस्ने धर्मशालामा होटल चलाउने ।’
कांग्रेसमा शेरबहादुर देउवाको ‘किचन क्याबिनेट’ भित्रकै बतासले रवीन्द्रसँगै योगेश भट्टराईलगायत एमालेका शीर्ष नेताहरुसम्म पनि पकड बनाइरहेका थिए । केपी ओली नेतृत्वको सरकारको पालामा पशुपतिको धर्मशालालाई होटल बनाउने योजना २०७६ वैशाख ३० मा हात पार्न सफल भए । जतिबेला रवीन्द्रको मृत्यु भएको तीन महीना पुगिसकेको थियो ।
बतासले रवीन्द्र अधिकारीले नभनेको भए पशुपति धर्मशालामा आफू जाँदै नजाने कुरा एक अन्तर्वार्तामा बताएका छन् । अहिले प्रश्न छ, बतासलाई नारायणहिटी सहितका सम्पदाभित्र प्रवेश गराउँदा योगेश भट्टराई पर्यटनमन्त्री हुनु संयोग मात्रै थियो ?
0 Comments