Header Ads Widget

#

नेताहरूकै बुई चढेर मैदान उत्रिए ज्ञानेन्द्र शाह

 नेताहरूकै बुई चढेर मैदान उत्रिए ज्ञानेन्द्र शाह 

click thw photo

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पश्चिम गेट बाहिर रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नेहरूकै कारण मंगलबार राजधानी उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्यो । पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय भएकाले पुतलीसडक, सिंहदरबार, माइतीघर, थापाथली जस्ता प्रमुख सडकखण्ड बिहानैबाट प्रभावित बनेको थियो 

मन्त्रीहरूको सहभागिता सहित सालिक माल्यार्पणमा निस्किएकी राष्ट्रपति भण्डारी हिँड्ने सडक स्वतः सुरक्षार्थ शून्य बनाइएको थियो । बिहान ११ः३० बजे सालिकमा माल्यार्पण गरेर राष्ट्रपति भण्डारी फर्किइन् । त्यसपछि शुरु भयो, पृथ्वीजयन्तीको थप उत्सव ।

सरकारले नमनाउँदा पनि पृथ्वीजयन्ती मनाउँदै आएको राजावादी पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन दलबल सहित माल्यार्पणमा पुगे । पृथ्वीजयन्तीको उत्सव थप उत्कर्षतिर बढ्यो ।

राष्ट्रपति भण्डारीले माल्यार्पण गरेको एक घण्टाभित्रै (मध्यान्ह १२ः३० बजे) पूर्वराजा ज्ञानेन्द्र शाह सालिक सामुन्ने पुगे । गणतन्त्र स्थापनापछि पहिलोपटक पृथ्वीजयन्ती मनाउन सिंहदरबार अगाडि समर्थकहरूबीच गाडीबाट ओर्लिएका ज्ञानेन्द्र शाहको तस्वीरलाई चासोका साथ हेरिएको छ । राजतन्त्रको माग गर्ने समर्थकहरूको भीडबीच माल्यार्पण गरेर पूर्वराजा फर्किएपनि अस्तव्यस्त बनेको ट्राफिक व्यवस्थापन नियमित हुन भने दिउँसो ३ बजेसम्म कुर्नुपरेको थियो ।

सुरक्षा निकायले गृह मन्त्रालयलाई दिएको रिपोर्टअनुसार, पृथ्वीजयन्ती मनाउन चार हजार बढी मानिस सिंहदरबार परिसर पुगेका थिए । यो उपस्थितिबाट राजतन्त्र पुनर्स्थापना गर्न चाहने अभियन्ता र नेताहरू उत्साहित देखिन्छन् । ‘सरकारको अकर्मण्यताका कारण पृथ्वीनारायण शाहप्रति अनादर गरियो । जनताले त्यसप्रति मन दुखाएका छन्,’ राप्रपाका नेता मोहन श्रेष्ठ भन्छन्, ‘आजको जनसहभागिताले आगामी दिनमा राजसंस्थाका निम्ति जनता सडकमा आउँछन् भन्ने प्रष्ट संकेत पाएका छौं ।’ राजधानी उपत्यकासहित ७७ जिल्लामै सानोठूलो सहभागितामा पृथ्वीजयन्ती मनाइएको उनी बताउँछन् ।

Post a Comment

0 Comments